बाबर आजमलाई उछिन्दै गिल बने नम्बर १ ब्याट्सम्यान

  बिहिबार २३, कार्तिक २०८० ०६:१५

काठमाडौँ । भारतीय क्रिकेटर शुभमन गिल आईसीसी एकदिवसीय वरीयतामा विश्व नम्बर १ ब्याट्सम्यान बनेका छन् । उनले पाकिस्तानका बाबर आजमलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । बाबर ९५१ दिनसम्म नम्बर १ मा रहे । आईसीसीले बुधबार नयाँ एकदिवसीय वरीयता सार्वजनिक गरेको हो ।

गिल ८३० अंकका साथ शीर्ष स्थानमा पुगे । बाबर आजम ८२४ अंकका साथ दोस्रो स्थानमा छन् । क्विन्टन डी कक ७७१ अंकसहित तेस्रो स्थानमा छन् । विराट कोहली चौथो स्थानमा पुगेका छन् । बलिङ वरियतामा भारतका मोहम्मद सिराज शीर्ष स्थानमा पुगेका छन् । सिराजसहित चार भारतीय बलर शीर्ष १० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।

श्रीलंकाविरुद्ध खेलेको ९२ रनको इनिङ्सको फाइदा गिलले पाएका छन् । उनले ९२ बलको सामना गर्दै १०० को स्ट्राइक रेटमा ९२ रन बनाए । उनले आफ्नो पारीमा ११ चौका र २ छक्का प्रहार गरे ।

विराट कोहली गत हप्ता सातौं स्थानमा थिए । उनले विश्वकपमा दक्षिण अफ्रिका विरुद्धको १०१ रनको इनिङ्सको फाइदा उठाए र ७७० अंकका साथ तीन स्थान उछाल्दै चौथो स्थानमा पुगेका छन् ।

 

खेलाडी दिन देश 
विवियन रिचड्स  १७४८ वेस्टइन्डिज
माइकल बेवन १२५९ अस्ट्रेलिया
विराट कोहली १२५८ भारत
ब्रायन लारा  १०४९ वेस्टइन्डिज
बाबर आजम  ९५१ पाकिस्तान 

 

clock बिहिबार २३, कार्तिक २०८० ०६:१५

प्रतिक्रिया