टी-२० विश्वकप एसिया छनोट : ओमानलाई उपाधि, नेपाल उपविजेता

  आइतबार १९, कार्तिक २०८० १४:४७

काठमाडौँ । ओमानले रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

निर्धारित ओभरमा ओमानलाई विजयका लागि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भएको थियो ।


ओमानबाट ओपनर कश्यप प्रजापती सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । डेथ ओभर विशेषज्ञ अविनाश बोहराले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काएका थिए ।

प्रतिक अथाभाले ७ रनमा आउट भए । उनलाई सोमपाल कामीले एलबीडब्लु आउट गरेका थिए । प्रजापति र अकिब इल्यासले दोस्रो विकेटमा ७ ओभर भित्र ६७ रनको साझेदारी गरे । इल्यासलाई गुल्शन झाले आउट गरे । इल्यासले १९ बल खेली २ चौका र ३ छक्कासहित ३३ रन बनाए ।

कप्तान जिसन मक्सुदले २६ रनको महत्वपूर्ण योगदान दिए । उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । मक्सुदलाई आउट गरी विवेक यादवले ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए । नासिम खुशी १ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे । उनी आउट भएपछि आएका मेहरान खानले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरे पनि अर्को बलमा विवेकले सानदार डाइभिङ फरवर्ड क्याच लिएर उनलाई आउट गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । गुल्शन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले ठुलो स्कोर बनाएको थियो ।

गुल्शनले त्रिवि क्रिकेट मैदानमा २० बलमै अर्धशतक बनाएका थिए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा गुल्शनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेली ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

नेपाल १० ओभरमा ४ विकेट गुमाई ६० रनमात्र बनाउन सकेको अवस्थामा गुल्शन र कप्तान रोहित पौडेलले ७ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । बिलाल खानको बलमा गुल्शन आउट भएपछि यो साझेदारी टुटेको थियो । रोहितले ३६ बलमा अर्धशतक पुरा गरेका थिए । उनले कुल ३७ बलमा ५२रन बनाउनेक्रममा ५ चौका र २ छक्का प्रहार गरे ।

रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।

नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए । तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।

ओपनर कुशल भुर्तेलले ३१ रन बनाए । उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अफ स्पिनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेक यादवले पनि १ रनमात्र बनाउन सके ।

clock आइतबार १९, कार्तिक २०८० १४:४७

प्रतिक्रिया