जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ३६ जनाको ज्यान गएको पुष्टि

  शनिबार १८, कार्तिक २०८० ०५:३०

काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ३६ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ ।

उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो । जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ ।

८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्सक
clock शनिबार १८, कार्तिक २०८० ०५:३०

प्रतिक्रिया