विश्वकप एसिया छनोट आजदेखि, पहिलो दिन चार खेल

  सोमबार १३, कार्तिक २०८० ०७:४०

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगितामा आज चार खेल हुँदै छन् । मंगलबार हुने पहिलो खेलमा समूह ‘बी’ का यूएई र बहराइन खेल्दै छन् ।

यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि मूलपानी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । यही समयमा समूह ‘ए’ मा रहेका नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छन् । 

आजै हुने तेस्रो खेलमा मलेसियाले ओमानको सामना गर्ने तालिका छ । यी दुई टिमबीचको खेल दिउँसो साढे १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सोही समयमा मूलपानी क्रिकेट ग्राउन्डमा समूह ‘बी’ मा रहेका हङकङ र कुवेत भिड्ने छन् ।

१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।


यस प्रतियोगितामा नेपाल, यूएई र ओमानमध्ये दुई टिमले विश्वकपको यात्रा गर्ने आकलन गरिएको छ । अर्को वर्ष हुने टी–२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार हालसम्म १६ टिम विश्वकपमा पुगिसकेका छन् । 

clock सोमबार १३, कार्तिक २०८० ०७:४०

प्रतिक्रिया