इजरायलमा मारिएका बझाङका गणेशको शव आफन्तलाई बुझाइयो

  शुक्रबार १०, कार्तिक २०८० ०९:३५

धनगढी ।  हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ।
 
बिहीबार राति १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको नेपालीको शव बझाङ पठाइएको हो।

फ्लाई दुबईको विमानमार्फत् बिहीबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राति धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘राती १ बजे शव धनगढी पुगेको थियो। सोही समय हामीले धनगढी नेत्रालयको एम्बुलेन्समार्फत् शवलाई बझाङ् पठाएका छौं।’

नेपालीको आज नै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने उनको भनाइ छ। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको शव आइतबार आफन्तको जिम्मा लगाइएको थियो।

नेपालीको शव बिहिबार राती धनगढी पुगेसँगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। हमासको आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका छन्।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ।

प्रदेशका थप दुई जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र चाँडै नेपाल ल्याइ आफन्तको जिम्मा लगाइने जनाइएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन्।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्। 

सम्बन्धित शिर्सक
clock शुक्रबार १०, कार्तिक २०८० ०९:३५

प्रतिक्रिया