इजरायलमा मृत्यु भएका तीन विद्यार्थीको शव काठमाडौं ल्याइयो, एकको दिउँसो पुग्ने

  आइतबार ०५, कार्तिक २०८० ११:०५

धनगढी । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ।आइतबार बिहान मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शव काठमाडौं पुगेको हो। 

आइपुगेको शवलाई श्रद्धाञ्जली दिइएको छ। घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपानेको शव भने गएराति नै आइपुगेको हो। शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

बौनिया–३ कैलालीका आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए। नेपाली विद्यार्थीको शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र नेपालस्थित इजरायलका राजदूत खनान गोडेर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

काठमाडौं ल्याइएको शवलाई आजै नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी ल्याउने तयारी छ। हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो। १० मध्ये बाँकी ६ जनाको शव भने ल्याउन बाँकी छ। मृत्यु भएका चारै जना सुदूरपश्चिमका विद्यार्थी हुन्।  

clock आइतबार ०५, कार्तिक २०८० ११:०५

प्रतिक्रिया