भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्यांक सङ्कलनमा ढिलाई

  बिहिबार २३, चैत २०७९ १५:२२

बैतडी । बैतडीका स्थानीय तहहरूले भूमिहीनहरूको तथ्यांक सङ्कलनमा ढिलाई गरिरहेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबास गरिरहेको व्यक्तिहरूको तथ्यांक सङ्कलनमा ढिलाइ गरिरहेका हुन् । १० स्थानीय तह मध्ये ४ पालिकाले मात्रै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्याङ्क संकलन गरेका छन् ।

पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले मात्रै तथ्यांक संकलन गरेको राष्ट्रिय भूमि आयोग कार्यालय बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) ले जानकारी दिनुभयो । बाँकी स्थानीय तहहरु लाई पटक – पटक तथ्यांक सङ्कलनको कामलाई गर्न भनिएको भएपनि ढिलाई भैरहेको उहाँले बताउनुभयो । ‘भूमिहीन र अव्यवस्थित बसोवासीको लगत सङ्कलनका लागि पालिकाहरूलाई समय समयमा पत्र काटेका छौ, तर अझै लगत सङ्कलनको काम पुरा गर्न सकेका छैनन्’ उहाँले भन्नुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक सम्मेलनका विषयमा नगरपालिका कुनै निर्णय नभएको पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । पुरानो कार्य समितिले केही वडाहरुको लगत संकलन गरी पठाएको भएपनि निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘नगरप्रमुख अध्यक्षतामा गठन गरिएको समितिले वडाबाट आएको तथ्याङ्कलाई अन्तिमरूप दिने गर्दछ, त्यसपछि मात्रै जग्गाको व्यवस्थापनका लागि आयोग पठाउनुपर्ने हुन्छ ’उहाँले भन्नुभयो ‘त्यस सम्बन्धी निर्णय हुन बाँकी छ ।’

सिगास गाउँपालिकाले लगत सङ्कलनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। वडा २ र ६ बाहेक सबै वडाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक पालिका पुगिसकेको र बाँकी रहेका वडाहरुबाट तथ्यांक आउने बित्तिकै अन्तिम रुप दिएर आयोगलाई पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम सिह बोहराले बताउनुभयो । आयोगले असोज ४ गते भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको गरि सक्न भनेको थियो तर ६ महिना भन्दा भैसक्दा पनि तथ्यांक सङ्कलनको काम पुरा हुन सकेको छैन ।

केही महिना अघि मात्रै भूमि आयोग सँग सम्झौता गरेको दशरथचन्द नगरपालिकाले तथ्यांक अपडेट गर्ने कुनै काम अघि नबढेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद बहादुर चन्दले पहिलेको तथ्यांक अप्रेटिङको कामलाई छिट्टै गर्ने बताउनुभयो । स्थानीय तहहरूले संकलन गरेको तथ्याङ्क इन्ट्री गरेर केन्द्रिय कार्यालय पठाइने र त्यसपछि लालपूर्जा वितरणको प्रकृया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।

clock बिहिबार २३, चैत २०७९ १५:२२

प्रतिक्रिया