मौसममा पश्चिमी वायु र ‘हामुन’ चक्रवातको प्रभाव, आज पानी पर्छ ?

  मङ्गलबार ०७, कार्तिक २०८० ०६:२७

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली  र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको र पूर्वी भू–भागमा बंगालको खाडीमा बनेको ‘हामुन’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले अबरोध नगर्ने विभागले जनाएको छ । 

एकदुई स्थानमा सामान्य वर्षा हुने भनिए पनि एक मिलिमिटरभन्दा कम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “आज पहाडी भू–भागका एकदुई स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । यो भनेको एक मिलिमिटरभन्दा कम हो,” उनले भने, “यो भनेको निकै कम वर्षा हो । यसले खासै असर गर्दैन ।” 

यो वर्षको दसैँको टीकामा मौसमले बाधा नगर्ने उनको भनाइ छ । “आजको पूर्वानुमान हेर्दा यो वर्षको दसैँमा मौसमले बाधा पुर्याउने देखिँदैन,” मौसमविद् अधिकारी भन्छन्, “केही भू–भागमा हिमपताको पनि सम्भावना रहेको छ । तर त्यो पनि उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा हो । त्यसले खासै असर गर्दैन । त्यसैले आज मौसमको अबरोध नरहने पूर्वानुमान छ ।” 

clock मङ्गलबार ०७, कार्तिक २०८० ०६:२७

प्रतिक्रिया