बझाङमा भूकम्प गएको दुई सातामा ६०१ पराकम्प गए

  शनिबार ०४, कार्तिक २०८० १३:५७

बझाङ । गत असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा ६ सय १ पराकम्प गएका छन् । पछिल्लो पटक बुधबार राति बझाङ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

असोज १६ गतेपछि सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्र बनाएर ६ सय १ पटक परकम्प गइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्र प्रमुख बलबहादुर तामाङका अनुसार यीमध्ये चारदेखि पाँच म्याग्निच्यूडसम्मका धक्का २९ पटक र पाँच भन्दा बढीको पराकम्प सात पटक गैसकेको छ ।

असोज १६ को भूकम्पले जिल्लाभर १२ हजार घरमा क्षति पुगेको छ । तीमध्ये ८ हजार ५ सय २९ घर बस्न नमिल्ने गरि क्षति भएका छन् भने ३ हजार ५२४ घरमा सामान्य क्षति भएको छ । भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत १ सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ५२ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० वटा सार्वजनिक संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घरमध्ये २ हजार ४ सय ४५ पूर्णरुपमा ध्वस्त भएका छन् ।

असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६।३ म्याग्निच्युडको भूकम्प र त्यसपछि लगातार गइरहेका पराकम्पका कारण सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको छ । थलारामामात्रै १ हजार ७२ घर बस्न नमिल्ने गरी क्षति भएको गाउँपालिकाले जनाएको छ । ‘विद्यालय, स्वास्थ्य चौकी भवनहरु पनि हाम्रै पालिकामा बढी क्षति भएको छ । पीडितहरुलाई अहिले विभिन्न संस्थाको सहयोगमा पालमा बस्ने व्यवस्था मिलाएका छौं,’ गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले भने, ‘जाडो बढ्दै छ । हिउादमा उहााहरुको कसरी व्यवस्थापन गर्ने रु केही सोच्नै सकेका छैनौं ।’ उनले स्वास्थ्य संस्था र विद्यालय भवन समेत भत्किएकोले आधारभूत सेवा दिन पनि कठिनाइ भइरहेको बताए ।

भूकम्पका कारण जयपृथ्वी र बुंगल नगरपालिका, मष्टा, छबिसपाथीभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको छ । यी पालिकाका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद् व्यवस्थापन समितिको तथ्यांक छ । भूकम्पपीडित सबै परिवारलाई विभिन्न संस्था र स्थानीय तहको सहकार्यमा तत्कालका लागि राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । ‘अहिले पीडितलाई त्रिपाल, बन्दोबस्तीका सामान र खाद्यान्न उपलब्ध गराएका छौं,’ उनले भने ‘ अब दिर्घकालीन राहत र पुर्ननिर्माणको लागि काम गर्ने तयारीमा छौं ।’

लगातार गैरहको परकम्पका कारण स्थानीय अहिले पनि घरभित्र बस्न सकिरहेका छैनन् । अधिकांश घर चर्किएका र लगातार भूकम्पको धक्का आइरहेको कारण घरभित्र बस्न जोखिम ठानेर पालमै बसेको स्थानीयले बताएका छन् ।

यसबीचमा राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका बिज्ञसहितको टोलीले बझाङमा स्थलगत अध्ययन गर्नुका साथै विभिन्न ठाउँमा भूकम्प मापन गर्ने यन्त्र पनि जडान गरेको छ । भूकम्पविद् लोकमणि अधिकारीका अनुसार झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण भूगर्भमा ठूलो शक्ति सञ्चित हुँदा जतिखेर पनि ठूलो कम्पन आउने खतरा रहेकोले सचतेना अपनाउनुपर्ने उनको सुझाव छ ।

सामान्यतया भूकम्प गएको दुई तीन महिनासम्म पराकम्पन आउने गरेको र ठूलो भूकम्पको समेत जोखिम रहेकाले सर्तक रहनुपर्ने उनले बताए ।

clock शनिबार ०४, कार्तिक २०८० १३:५७

प्रतिक्रिया