बझाङका भूकम्प पीडितको गुनासो : ‘बस्ने बासै छैन, के दशैँ के तिहार’ ?

  शनिबार ०४, कार्तिक २०८० १०:०४
त्रिपालमुनि बसिरहनुभएका भूकम्प पीडित बलबहादुर सुनार ।

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरका ७१ वर्षीय बलबहादुर सुनारका बुढाबुढी सदरमुकाम चैनपुरको एक छेउमा त्रिपालमुनि बस्नुहुन्छ । चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा भूकम्प पीडित उहाँहरूलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ ।

नेपालीलाई दशैँको रौनकले छोइरहँदा भूकम्प पीडितको बस्तीमा खाने, लाउने र बासकै पिरलो छ । बलबहादुरको पनि यस्तै पिरलो छ । चाडपर्व मनाउने मान्छेको चहलपल र खुशीयाली छाइरहँदा बलबहादुर भने निराश बन्नुभएको छ ।

असोज १६ गते गएको भूकम्पले घर भत्काइदिएपछि उहाँ त्रिपालमा सर्नुभयो । दशैँको रौनक छाएसँगै सदरमुकाम चैनपुरमा सामान किन्नेको चहलपहल बढे पनि बलबहादुरका परिवारलाई भने दशैँको रौनकले छोएको छैन । भूकम्पको त्रासमा बलबहादुर त्रिपाल नजिकै निधारमा हात लगाएर बसिरहनुभएको भेटिनुभयो ।

घर नै नरहेपछि बलबहादुरको गुजारा त्रिपालबाटै चल्दै आएको छ । भूकम्पले घर भत्किएपछि निरास हुनुभएका बलबहादुरका बुढाबुढीलाई दशैँको उमंगले भने छोएको छैन । उहाँले भन्नुभयो, ‘भूकम्पले गर्दा दशैँ आए–नआएको कुनै अनुभव नै भएको छैन् । मनमा खल्लो भएपछि दशैँ आएको र नआएको एउटै हो । दुःख, पीडामा छौं, बस्ने बास छैन । यही पालभित्र बसेका छौं । केटाकेटीहरूलाई चिसो लागेर ज्वरो आएको छ । बेलाबेला भूकम्पले तर्साइ राखेको छ । मनमा खुशी भए पो १ जमरा राख्ने टीकाटालो गरौं भन्ने हुन्थ्यो । त्यो खुशी छैन । बस्ने बासै छैन भने, के दशैँ के तिहार रु बेलाबेलाको पराकम्पनले मुटु नै झस्किन्छ ।’

उहाँ भन्नुहुन्छ, ‘दशैँ मनाउनलाई खानेकुरा छैन् । अलिकति युवाहरूले चामल दिएका थिए, त्यो पनि सकियो । अब दैनिक ज्यालादारी गरेर जीविका चलाउने हामीहरूले कसरी घर बनाउनु र जमरा उमारेर दशैँ मनाउनु रु’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर आएर छिट्टै राहत दिन्छांै भनेको पनि १८ दिन भइसक्यो । न राहात आयो न प्रधानमन्त्री आए, न मुख्यमन्त्री आए, न मेयर ।’

खुलामञ्च नजिकै रहेको बलबहादुरको घर भूकम्पले चिराचिरा पारेको छ । उहाँ भन्नुहुन्छ, ‘दशैँ मनाउन त सरकारले राहत दिन्छ कि भन्ने आस थियो । अब त्यो पनि सक्कियो ।’ बझाङमा भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको छ ।

जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । जिल्ला विपद् व्यवस्थापन समितिको विवरणअनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । ६ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ ।

clock शनिबार ०४, कार्तिक २०८० १०:०४

प्रतिक्रिया