सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएका हर्कबहादुर देखाउँदैछन् विश्वकप

  बुधबार ०१, कार्तिक २०८० १५:००

डडेल्धुरा । उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका हर्कबहादुरको पारिवारिक दबाबका कारण २०५३ मंसिरमै विवाह भयो। मंसिरकै महिनामा बुवाको निधन भयो। त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए।

२०३३ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरमा जन्मेका हर्कबहादुर कैनीले उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। ०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए ।

सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले। अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब । ‘५ महिनासम्म काम सिकेपछि कम्पनीले तलब दिन सुरु गर्यो,’ उनले भने, ‘प्राविधिक रूपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरू मिलाउने काम थियो मेरो। सोही समयमा अडियो भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तिर्ण गरेको थिए ।’

आफ्नो काममा पोख्त हुन थालेपछि सन २००३ पछि भारतभित्र मात्र होइन विदेश जाने अवसरसमेत पाउन थाले हर्कबहादुर। ‘विभिन्न इभेन्टहरूको प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको थिएँ,’ उनले अगाडि थपे, ‘अहिले त दर्जर्नौ देशमा गएर टेलिभिजनमा इभेन्टहरू देखाइरहेको छु।’

अहिले भारतमा ओडिआई विश्वकप जारी छ। उक्त विश्वकपलाई टेलिभिजनमा देखाउने पर्दा पछाडिका काममा सक्रिय छन् हर्कबहादुर। विश्वकपलाई टेलिभिजनमा आकर्षक बनाएर देखाउँने काम हो हर्कबहादुरको।

हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत छन् उनी। भिजन इन्जिनियर हर्कबहादुरले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन्।

उनले भने, ‘२००८ देखि भारतमा आइपीएल सुरु भयो। आइपीएलमा २००९ देखि नै काम गर्न थालेको हुँ। यो वर्ष विश्वकपको प्रत्यक्ष प्रसारणको टोलीमा छु।’

उनीसँग आइपीएल, २० र ५० ओभरको विश्वकप क्रिकेट, एसियन गेम, इन्डियन सुपर लिग फुटवल, प्रो कवड्डी, बहुचर्चित आइफा अवार्ड, विग बोस, इन्डियन आइडल लगायतका विभिन्न इभेन्टस्को प्राविधिक टोलीमा रहेको अनुभव छ।

clock बुधबार ०१, कार्तिक २०८० १५:००

प्रतिक्रिया