त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दै

  बुधबार ०१, कार्तिक २०८० ०६:३८

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदै छ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । 

शृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ ।  २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । 

अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् । नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृंखला आयोजना गरेको हो । 

यसैबीच, यो शृंखलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृंखलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने बताएका छन् । घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय शृंखलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको बताएका छन् । 

शृंखलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ ९क्यान०ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ । 

clock बुधबार ०१, कार्तिक २०८० ०६:३८

प्रतिक्रिया