लोटस आईको विद्यालय स्तरिय क्रिकेट कपमा सैनिक विद्यालय विजयी

  शनिबार २७, असोज २०८० ०६:४९

धनगढी । कैलालीको लोटस आई कप अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगीतामा सैनिक आवाशिय महाविद्यालय विजयी भएको छ। शुक्रवार भएको फाईनल खेलमा कञ्चनपुरको ज्योती बोर्डिङ स्कुललाई ३० रनले पराजित गर्दै सैनिकले उपाधी जितेको हो। 

शान्तिपुर खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर सैनिकले ब्याटिङ रोजेको थियो। सैनिकले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १२४ रन बनाएको थियो। उसका लागि निसान्त भट्टले सर्वाधिक ३३ रन बनाएका थिए।

बलिङमा ज्योतीका विनोद सिँहले ३ विकेट र आशिष ताम्राकारले २ विकेट लिए। १२५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ज्योतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनायो। उसका लागि सुरज बोहरा र नविन ताम्राकारले समान १४÷१४ रन बनाए। बलिङमा सैनिकका सुशिल चन्द र निशान्त भट्टले समान ३÷३ विकेट लिएका थिए।

उपाधी जितेसँगै सैनिक आवाशियले नगद १ लाख १ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योतीले नगद ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगीताभर १० विकेट र ११८ रन बनाएर उत्कृष्ट खेल प्रर्दशन गरेका सैनिकका कप्तान सुशिल चन्द उत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसैगरी प्रतियोगीतामा सबैभन्दा बढी १२० रन बनाएका ज्योतीका नविन ताम्राकार उत्कृष्ट ब्याट्सम्यान र सबैभन्दा बढी १५ विकेट लिएका ज्योतीकै आशिष ताम्राकार बेष्ट बलर घोषित भए। उनिहरुले समान नगद ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी प्रतियोगीताको उदयीमान खेलाडी दुर्गालक्ष्मी नमुना माविका गणेश थापा घोषित भए। उनलाई पनि आर्कषक पुरस्कार प्रदान गरिएको थियोे।

clock शनिबार २७, असोज २०८० ०६:४९

प्रतिक्रिया