कैलालीको आमबगैयामा वनकै कर्मचारीले गरे वन फडानी

  शनिबार १३, असोज २०८० १४:५१

धनगढी । कैलालीमा वन कर्मचारीकै टोलीले वन फँडानी गरेको पाइएको छ। कैलालीको भजनी नगरपालिका वडा नम्बर-९ आमबगैयाका जितबहादुर बडैलाले नर्सरीभित्र लगाइएका रुखहरु वन डिभिजन कार्यालय पहलमानपुरको टोलीले फडानी गरेको आरोप लगाएका छन्।

वर्षौँदेखि आफूले संरक्षण गरेका बोट बिरुवामा वन कार्यालयले मेसिन चलाएर एक हजार रुख काटेको शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन्। ‘मैले नर्सरीभित्र साल,सिसम,अमला,कागती,आँप लगायत एक हजार बोटविरुवाको संरक्षण गर्दै आएको थिएँ। सोही नर्सरीभित्र डाले घाँस पनि रोपेको थिएँ,’ उनले भने-‘तर, गएको बिहीबार डिभिजन वन कार्यालयको टोलीले वन अतिक्रमण गरेको भन्दै ठूला रुखहरुमा मेसिन चलाएर काटेको छ।’

उनले वन नियम अनुसार कसैले पनि रुख अनुमति बिना काट्न नपाइने व्यवस्था हुँदा समेत वन कार्यालयले जानकारी नगराइ रुख काटेको बताए। वन अतिक्रमण गरेर नर्सरी निर्माण भएको भए वन कार्यालयले सरसल्लाह गरेर आफ्नै जिम्मा लिएर संरक्षण गर्नुको सट्टा रुख काटेको उनले बताए। ‘मैले नर्सरीभित्र कुनै भौतिक संरचना निर्माण पनि गरेको छैन। बरु तारजाली लगाएर नर्सरी संरक्षण गर्दै आएको थिएँ,’ उनले भने, ‘वनकै सहमतिमा वनबाटै लिएर लगाइएका बोट विरुवा वनको टोलीले आफै आएर काटिदियो।’

डिभिजन वन कार्यालयले दिउँसो त्यहाँ रहेका फलफूलका विरुवा मेसिनबाट काटेको र राति साल र सिसमका बोट काटेको उनको आरोप छ। डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेस भट्टराईको नेतृत्वमा वन रक्षकहरुले त्यहाँ रहेका झण्डै एक हजार रुख कटान गरेको उनको भनाइ छ।

नर्सरी र सोही क्षेत्रमा रहेको सयपुरी सामुदायिक वनबीच जग्गासम्बन्धी विवाद रहेको थियो। जितबहादुरले अढाई विघामा नर्सरी निर्माण गरेका थिए। वनका सल्लाहकार दानबहादुर चौधरीले पनि डिभिजन वन कार्यालयले दादागिरी शैलीमा जथाभावी बोटविरुवा काटेको बताएका छन्।

आफूहरुले नर्सरीमा रहेको जग्गाको केही क्षेत्र सामुदायिक वनलाई दिन सरसल्लाह गरेको भएपनि डिभिजन वन कार्यालयले नर्सरी नहटाए सामुदायिक वनभित्रै ताला लगाउने धम्की दिएपछि आफूहरु केही नबोलेको उनले बताए। उनले सामुदायिक वनकै नेतृत्वमा रुख फँडानी भएको र त्यसमा स्थानीय कसैको संलग्नता नरहेको बताए। डिभिजन वन कार्यालय वन अधिकृत भट्टराईले नर्सरीलाई सामुदायिक वन बनाउन केही फलफुलका रुखहरु मात्रै कटान गरेको बताए । उनले साल, सिसमका रुख वनको टोलीले फँडानी नगरेको बताए।

जितबहादुरले भने राति रुखहरु आफैँ कटान गरेर वन डिभिजनले अहिले आफुलाई रुख काट्यो भन्दै झूटा मुद्दा प्रहरीमा दायर भएको बताएका छन्। सामुदायिक वनले हटाउन नसकेको अतिक्रमण वनका कर्मचारीले हटाएको वन अधिकृत भट्टराईको भनाई छ। २०७६/०७७ सालमा वैज्ञानिक वनको समयमा उक्त अतिक्रमित क्षेत्र सामुदायिक वन क्षेत्रमा गाभिएको हो। जितबहादुरका अनुसार नर्सरी नजिकै प्रहरी चौकी छ। तर, प्रहरी घटना स्थलमा आएन। रुख फँडानी गर्न प्रहरीले वन अधिकारीहरूलाई सहयोग नगरेको बडैलाले बताए। बडैलाले आफू असुरक्षित भएकोले मोटरसाइकल छोडेर जङ्गलको बाटो हुँदै घरबाट भागेको बताएका छन्। उनी धनगढी पुगेका छन्।

clock शनिबार १३, असोज २०८० १४:५१

प्रतिक्रिया