लुम्बिनी अल स्टारले दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई जनही १० हजार दिने
काठमाडौं । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
दीपेन्द्रले बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान राखेका थिए । उनले मंगोलियाविरुद्ध १० बलमा अविजित ५२ रन बनाएका थिए ।
लुम्बिनीले टिमको कप्तानसमेत रहेका दीपेन्द्रलाई एक लाख र मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको हो । दीपेन्द्रकै कप्तानीमा लुम्बिनीले गत वर्ष सम्पन्न नेपाल टी–२० को उपाधि जितेको थियो ।
कुशलको शतकसँगै दीपेन्द्र र कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको थियो । ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलिया ४१ रनमै समेटिएपछि नेपालले २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।
प्रतिक्रिया