आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

  मङ्गलबार ०२, असोज २०८० ०६:३३

काठमाण्डौ । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ ।  यस अवसरमा आज काठमाण्डौको टेकुसहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ ।

गणेश चतुर्थी पर्व    

गणेशको पूजा गरी मनाइने गणेश चतुर्थी पर्व पनि आज मनाइँदैछ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिन्छ ।

हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।  मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज मङ्गलवार नै परेको छ । यो पर्वलाई नेवार समुदायले चथा नाममा मनाउँछन् ।

तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि आज मङ्गलवार नै रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । गणेश रथयात्रा पनि आजै गरिने छ ।

clock मङ्गलबार ०२, असोज २०८० ०६:३३

प्रतिक्रिया