अत्तरियामा भेटियो रेड लेबल विषादीयुक्त तरकारी

  सोमबार ०१, असोज २०८० २०:१३

धनगढी । कैलालीको अत्तरियामा रहेको तरकारी हाटबजारमा रेड लेबल विषादी युक्त तरकारी भेटिएको छ । कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका तरकारीका नमूनामा विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियाले गरेको परीक्षणमा २ वटा नमूनामा रेड लेबल विषादी युक्त तरकारी भेटिएको हो ।

सोमबार ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरिया प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन् । 

उनले अत्तरिया तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए ।

३५ भन्दा तल विषादीको मात्र भेटिए ग्रीन लेबल, ३५ देखि ४५ प्रतिशत विषादीको नमूना भेटिए येलो टेबलमा राखिने गरिएको छ भने ४५ प्रतिशत भन्दा माथि विषादीको मात्रा भेटिए रेड टेबलमा राखी त्यस्तो तरकारी र फलफूल खान अयोग्य हुने विषादी अवशेष दु्रत विश्लेषण इकाइले जनाएको छ । यलो लेबलको विषादीको मात्रा भेटिएमा भने केही दिन स्टक गरेर खान मिल्ने प्राविधिक भट्टले बताए ।

यसअघि चालु आर्थिक वर्षमै साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो । त्यसपछि भने विषादी परीक्षणका लागि आवश्यक किट सकिएपछि करिब डेढ महिना देखि परीक्षणको काम रोकिएको थियो । शुक्रबार देखि विषादी परीक्षण सुरु गरिएको थियो ।

विषादी अवशेष दु्रत विश्लेषण इकाइले तरकारी फलफूलमा अर्गानोफस्फेट, कार्बोमेटको मात्रा परीक्षण गदै आएको छ ।

clock सोमबार ०१, असोज २०८० २०:१३

प्रतिक्रिया