सशस्त्र प्रहरीले दुई ठाउँ चेक गरेर छोडेको बस प्रहरीको खानतलासीबाट बरामद भयो २६ लाखको अवैध समान

  शुक्रबार २९, भदौ २०८० १८:०१

धनगढी । धनगढीमा सशस्त्र प्रहरीले छोडेको बस भित्र २६ लाख भन्दा बढीको अवैध समान फेला परेको छ । बिहीबार कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिरहेको बसबाट प्रहरीले २६ लाख बढीको अवैध समान बरामद गरेको हो । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४ वटा ब्यारेलमा चेकजाँच गरी धनगढी आइरहेको बसबाट समान नेपाल प्रहरीले बरामद गरेको हो । धनगढी उपमहानगरपालिका ३ स्थित भन्सारको व्यारीयल कटेपछि प्रहरीले सार्वजनिक बसभित्र लुकाएर ल्याउँदै गरेको अवैध समान बरामद गरेको हो ।

भारतीय भन्सारबाट नेपाल भित्रिएपछि सुरुमा सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती मातहतको अमरबस्ति प्रहरी, त्रिनगर नगर प्रहरी र त्रिनगर भन्सार व्यारीयलमा रहेका भन्सारका कर्मचारी, सशस्त्र प्रहरीले चेकजाँचपछि छोडेको सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सामान बरामद गरेको हो ।

धनगढीको त्रिनगर नाकाबाट भित्रिएको २६ लाख ६६ हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरीको टोलिले धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो। 

२८ गते बिहान ९ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ५ ख ४७३२ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा मोबाइल पार्ट,नक्कली गर गहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त बसमा सवार कञ्चनपुर दोधराचाँदनी वडा नम्बर ९ का ४० वर्षीय राहुल सिलवालले बस भित्र भारतबाट लुकाई छुपाई भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ती सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ। 

२६ लाख ६६ हजार मूल्य बराबरका अवैध सामानसहित राहुललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ। उक्त अवैध सामान बरामद पछि बसलाई गन्तव्य तर्फ पठाई सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

नाकामा खटिएको सशस्त्र प्रहरीको निगरानीबाटै लाखौँ रकमको तस्करी हुन थालेपछि सशस्त्र प्रहरी माथि प्रश्न उठेको छ । नाकामा तैनाथ सुरक्षा निकायकै अगाडी लाखौँको तस्करी भइरहँदा मिलेमतोमै तस्करी हुन थालेको समेत आरोप लागेको छ । कैलालीको त्रिनगर भन्सारको सुरक्षामा कार्यरत बिओपीले भन्सार छलीका सामान पक्राउ गर्नुको सट्टा उल्टै तस्करलाई प्रोत्साहन गर्ने गरेको स्थानीयको आरोप छ । 

केही दिनअघि प्रहरीले अवैध रूपमा भित्रिँदै गरेका दुई भैँसी सहित भन्सार कार्यालयलाई बुझाएको तस्कर भगाएको समेत सशस्त्र प्रहरीलाई आरोप लागेको थियो । त्यस अघि तिन साताअघि त्रिनगर नाकाबाट बरामद गरेको ग्रिन टी र सुर्तीका प्याकेट सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई नबुझाई गायब पारेको थियो ।

clock शुक्रबार २९, भदौ २०८० १८:०१

प्रतिक्रिया