साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको ६४ किमि सडक ६ वर्षसम्म अधुरै

  बिहिबार २८, भदौ २०८० १२:५९

धनगढी । साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको ६४ किलोमिटर दूरीको कञ्चनपुर खण्ड ६ वर्षसम्म अधुरै छ । यसबीचमा पाँचपटक म्याद थप गरिएकामा निर्माण कम्पनीले छैटौँपटक म्याद थपका लागि हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीमा निवेदन दिएका छन् । कार्यालयले पनि म्याद थपका लागि तयारी अगाडि बढाएको छ । 

कञ्चनपुरमा हुलाकी राजमार्गको ६४ किलोमिटरलाई तीनवटा खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । हालसम्म कुनै पनि खण्डको काम पूरा भएको छैन । ४० किलोमिटर मात्र कालोपत्रे भएको छ । कालोपत्रे भएका ठाउँमा पनि सडकछेउतिर तारजाली लगाउने, राजमार्गसँग जोडिएका शाखा सडकको केही मिटर कालोपत्रे गर्ने, ट्राफिक संकेतसहित रङरोगन गर्ने, पोस्ट राख्नेलगायत काम भएका छैनन् ।

पाँचौपटक थप गरिएको अवधि सकिए पनि निर्माण कम्पनी काममा नफर्किँदा लामो समयदेखि निर्माण कार्य ठप्प छ । कालोपत्रे भएका ठाउँमा पनि थप काम अलपत्र परेको स्थानीयले बताएका छन् । पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म पर्ने पहिलो खण्डको २० किलोमिटर सडक कालोपत्रे पूरा भएको छ । यो खण्डमा शाखा सडक कालोपत्रे गर्ने, तारजाली लगाउने, पोस्ट बनाउने, ट्राफिक संकेतसहित रङरोगन गर्नेलगायतका काम एक वर्षदेखि अलपत्र रहेका आयोजना कार्यालयले जनाएको छ । राजमार्गसँग जोडिएका शाखा सडक २० मिटरसम्म कालोपत्रे गर्नुपर्ने सम्झौता छ ।

१ चैत ०७३ मा ३० महिनाभित्र काम सक्ने सर्तसहित शर्मा–राजेन्द्र जेभीसँग निर्माण सम्झौता भएको आयोजनाका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । यो खण्डमा पाँचौँपटक थप गरिएको अवधि गत पुसमा सकिएको उनले बताए । ३६ करोड ४७ लाखमा ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले २९ करोड २१ लाख भुक्तानी लगिसकेको छ । पहिलो खण्डमा ८९ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म म्याद थपका लागि निवेदन दिएको छ ।

बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर खण्ड साढे १० किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रे भएको खण्डमा तारजाली लगाउनेजस्ता सडक सुरक्षा र ट्राफिक संकेतलगायतका काम भएका छैनन् । यो खण्डमा पनि पाँचौँपटक थपिएको म्याद गत असारमा सकिएको थियो । निर्माण कम्पनी बाबाहंश–सिद्धि शाही जेभी पाँचौँपटक म्याद थप गर्दा पनि काममा फर्केनन् । 

लामो समयसम्म काम नगरेर सम्पर्कविहीन भएपछि आयोजना कार्यालयले निर्माण कम्पनीलाई कारबाहीका लागि यसअघि सूचना नै प्रकाशित गरेको थियो । तर, सार्वजनिक खरिद ऐन संशोधन गरेर पुराना ठेक्काको अवधि बढाइएपछि थप समय पाएको थियो । निर्माण कम्पनी काम नगरेर सम्पर्कविहीन हुने गरेको आयोजनाका सूचना अधिकारी सुनारले बताए । ‘यसअघि नै ठेक्का तोड्ने प्रयास गरेका थियौँ । म्याद थप भएपछि काम गर्न पटकपटक ताकेता गरेका छौँ, तर काम भएको छैन,’ उनले भने । यो निर्माण कम्पनीले पनि चैत मसान्तसम्म म्याद थपका लागि आयोजना कार्यालयमा निवेदन दिएको छ । दोस्रो खण्डमा ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

दोस्रो खण्डमा पनि साढे दुई वर्षकै समय दिएर १२ फागुन ०७३ मा सम्झौता भएको थियो । यो खण्डमा ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर बर्खबहादुर कठायतले बताए । सम्झौताको ४१ करोड ४१ लाख रुपैयाँमध्ये २९ करोड ४६ लाख रुपैयाँ भुक्तानी दिइएको उनले जानकारी दिए । दोस्रो खण्डको केही ठाउँमा सडक निर्माणमा भारतीय सीमासुरक्षा बल एसएसबीले भारतीय क्षेत्र भन्दै अवरोध गर्ने गरेको छ ।

बेलडाँडीदेखि दैजीसम्म तेस्रो खण्डको २४ किलोमिटरमध्ये साढे नौ किलोमिटर कालोपत्रे भएको इन्जिनियर कठायतले जानकारी दिए । यो खण्डमा पनि पाँचौँपटक थपिएको अवधि गत असारमा सकिएको छ । आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले आगामी असारसम्म म्याद थपको मागसहित निवेदन दिएको छ । साढे दुई वर्षको समय सीमासहित चैत ०७३ मा शर्मा–राजेन्द्र जेभीसँग निर्माण सम्झौता भएकोमा हालसम्म करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको इन्जिनियर कठायतले बताए । ८० करोड ५७ लाख ठेक्का सम्झौता रकममध्ये २८ करोड २१ लाख भुक्तानी भएको आयोजना कार्यालयले जनाएको छ । 

पहिलो र तेस्रो खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको कम्पनी हो । त्यस्तै, दोस्रो खण्डमा काम गरिरहेको सिद्धि–शाही नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले सकेसम्म अहिलेकै ठेक्काबाट काम गराउने प्रयास गरिने बताएका छन् । ठेक्का तोड्नु उपयुक्त भए पनि नयाँ प्रक्रियामा जाँदा अर्थ मन्त्रालयबाट सहमति पाउन गाह्रो हुने भएकाले काम गरिरहेकै कम्पनीले पूरा गरून् भन्ने चाहेको उनले बताए । ‘ठेक्का तोडेपछि नयाँ परियोजनाका रूपमा सुरु गर्नुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयबाट सहमति पाउन गाह्रो छ,’ उनले भने, ‘अहिलेकै कम्पनीले काम गरून् भन्ने हो, अब काम नगरे ठेक्का तोड्नुको विकल्प हुँदैन ।’

निर्माणको काम कैलालीमा पनि सुस्त
कैलालीमा पनि हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त छ । लम्कीदेखि टीकापुरको सत्तीसम्म हुलाकी राजमार्गको लिंक रोड र धनगढीदेखि टीकापुरसम्म राजमार्गको विभिन्न खण्डमा सातवटा प्याकेजमा काम भइरहेको छ । दुई प्याकेज अन्यको काम सन्तोषजनक नरहेको आयोजना कार्यालयले जनाएको छ ।

सातवटै प्याकेजमा थप गरिएको अवधि आगामी मंसिरमा सकिने भए पनि हालसम्मको भौतिक प्रगति हेर्दा उक्त अवधिमा दुईवटा प्याकेजको काम मात्र पूरा हुने देखिएको आयोजनाका सूचना अधिकारी सुनारले बताए । धनगढी क्याम्पस चोकदेखि पूर्वको प्याकेज र लम्की–खक्रौला लिंक रोडअन्तर्गत लम्कीदेखिको पहिलो प्याकेजको काम सम्पन्न हुने चरणमा रहेको उनले जानकारी दिए ।

clock बिहिबार २८, भदौ २०८० १२:५९

प्रतिक्रिया