थारु समुदायमा भदौ ३१ गते अट्वारी पर्व मनाइदै

  बुधबार २७, भदौ २०८० २१:०७

धनगढी । थारु समुदायको दोस्रो ठुलो पर्व अटवारी यस वर्ष भदौ ३१ गते मनाइने भएको छ । अट्वारी पर्व अस्टिम्की (कृष्ण जन्मअस्टिमी) पछिको दोस्रो आइतबार मनाइदै आएकोमा यस वर्ष भदौ गते मनाइन लागेको हो ।

थारु समुदायभित्र विगतका दिनमा फरक फरक पर्व मनाउने गलत प्रवृति भित्रिरहेको अट्वारीलाई एक रुपतामा ल्याउन जरुरी रहेको भन्दै थारु कल्याणकारिणी सभाले विज्ञप्ती जारी गर्दै यस वर्षको अट्वारी भदौ ३१ गते मनाउन अनुरोध गरेको छ ।

साथै सभाले अटवारी पर्वको विदा समयमै घोषणा गरी विदा व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारसंग अनुरोध गरिएको छ ।

भदौ ३१ गतेका दिन प्रदेश भरी सार्वजनिक सार्वजनिक विदा दिने गरी राजपत्रमै उल्लेख गरिसकेको छ भने कैलाली कञ्चनपुरका स्थानिय तहहरुले सूचना जारी गर्दै आवश्यकता अनुसार विदा दिने जानकारी दिइरहेका छन् ।

कैलालीको कैलारी गाउँपालिकाले बुधबार विज्ञप्ती जारी गर्दै अट्वारी पर्वको अवसरमा आफनो क्षेत्रभित्रमा दुई दिने विदा दिने निर्णय गरेको जनाएको छ ।

अटवारी मुलतः थारू समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारू समुदायका महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका थारू समुदायले अटवारी पर्व मनाउने गरेका छन् । 

अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व शुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । र, साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने गर्दछन् । 

अटवारी पूजामा रोटी, काक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ ।

अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ ।

clock बुधबार २७, भदौ २०८० २१:०७

प्रतिक्रिया