सुन तस्करी प्रकरणः ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

  बुधबार २७, भदौ २०८० १३:२०

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले आज बुधवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको जानकारी गराएको छ ।

यस्तै सीआईबीले ब्रेक सु लगायतका माध्यमबाट पछिल्लो समय झण्डै ३ सय २ किलो सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको पनि जनाएको छ ।

अहिलेसम्मको अनुसन्धानको क्रममा रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइ छिपाइ अवैध पैठारी गरेको झण्डै ६१ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको झण्डै ३ सय २ किलो सुन अवैध पैठारी भएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सुन अवैध पैठारी गर्न खडा गरिएका अरु पाँच वटा कम्पनीहरू मार्फत ल्याइएको सुनको विवरणको पनि थप अनुसन्धान भैरहेको छ । सीआईबीले आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौमा सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दैछ ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन राय पेस गर्ने भएको छ । 

clock बुधबार २७, भदौ २०८० १३:२०

प्रतिक्रिया