दार्चुलाबाट ९ किलो चरेससहित बैतडीका भावना र जयबहादुर पक्राउ

  मङ्गलबार २६, भदौ २०८० १३:५९

दार्चुला । दार्चुलाबाट ९ किलो चरेससहित बैतडीका दुई जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब ९ किलोग्राम चरेससहित एक महिला र एक पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–९ नायलबाट ८ किलो ८५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको उनले बताए।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले बताए।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार २६, भदौ २०८० १३:५९

प्रतिक्रिया