डोटीको बनेडुग्रीसैनमा दुनाटपरी बनाउने तालिम सम्पन्न

  शनिबार १८, चैत २०७९ १३:५४     विश्वास खबर

डोटी । ग्रामीण भेगका महिलाहरुलाई व्यवसायिक बनाउने लक्ष सहित दुना टपरी बनाउने तालिम  ६ दिने तालिम समपन्न भएको छ ।  शिखर नगरपालिका–१० बनेडुग्रीसैन तालिम सञ्चालन भएको थियो ।

शिखर नगरपालिकाको आर्थिग सहयोग र द्वारिकादेवी ठकुरानी ट्रष्ट र सीताराम तेज स्मृति प्रतिष्ठानको आयोजनामा तालिम भएको थियो । “हरियो वन, महिला उद्यमीलाई धन” नारा सहित तालिम आयोजना गरिएको द्वारिकादेवी ठकुरानी ट्रष्टकी अध्यक्ष प्रतिमा शाहीले बताइन् ।

तालिम पश्चात महिलाहरु व्यवसायिक बनुन् र आफ्नो घरखर्च चालाउन सकुन् भन्ने उद्येश्यले तालिमको आयोजना गरिएको उनको भनाइ छ । दक्ष तालिमप्राप्त दुना टपरी व्यवसायीलाई प्रशिक्षकका रुपमा ल्याएर दुना टपरी बनाउने मसिन सहित तालिम दिन लागेको उनले बताइन् ।

पछिल्लो समय प्लाष्टिकको प्रयोग बन्द गरिदै आएको छ, यस्तो अवस्थामा दुना टपरीको माग पनि बढ्दै गएको छ, “उनले भने,“बजार पनि राम्रो छ । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष सहित विभिन्न किसिमका सिपमुलक तालिमहरुको आयोजना गर्दै आएको नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् ।

सालका पातहरु पाउने अन्य वडाहरुमा पनि तालिमलाई विस्तार गरिने उनले बताइन् । हाल नगरपालिकाले सिलाइकटाइ, पोते बुन्ने, टपरी बनाउने तालिम सञ्चालन गर्दै आएको रावलले बताइन् । तालिममा ५३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सानीडाँडा फुलबारी दुना टपरी उद्योग कैलालीकी सञ्चालक भावना मगर प्रशिक्षकका रुपमा छन् । यसअघि नगरपालिकाको वडा नम्बर ३ स्थित आलीमा दुनाटपरी तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
 

clock शनिबार १८, चैत २०७९ १३:५४     विश्वास खबर

प्रतिक्रिया