कञ्चनपुरमा आरआइटीले बुझाएको ट्रक र चालक रातारात छुटे

  आइतबार १०, भदौ २०८० १०:१५

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक रातारात छाडेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट वाणीको टोलीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक छाडिएको हो।

आरआइटीले सुपप्र ०१००१ ख २६२४नम्बरको ट्रक र चालक गणेशसिंह कार्कीलाई नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयले शनिबार बिहान इमेलमार्फत सञ्चारमाध्यममा पठाएको बुलेटिनमा समेत चालक र ट्रकसहित एक लाख ८४ हजार ९ सय रुपैयाँको चिनी, सलाई लगायतका सामान बरामद गरिएको उल्लेख छ। सोही कुरालाई आधार मानेर सञ्चार माध्यममा अवैध सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए।

तर, आरआइटीले अवैध सामान बरामद गरेर जिम्मा लगाएको ट्रक र चालकलाई अस्थायी प्रहरी पोष्टले रातारात छाडेको आरोप लागेको छ। तर, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीले यो विषयमा इलाका प्रहरी कार्यालय झलारीमा बुझ्न आग्रह गरे।

इप्रका झलारीका प्रमुख प्रहरी निरीक्षक बिरसिंह बुढाएरले चालक, ट्रक र अवैध सामान प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहले बरामद गरेकोले उतैबाट सूचना लिन अनुरोध गरे। तर आरआइटीले भने अवैध सामानसहित नियन्त्रणमा लिइएको ट्रक र चालक अस्थायी प्रहरी पोष्ट वाणीको जिम्मा लगाएर कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिएर टोली धनगढी फर्किएको जनाएको छ।

कानुनअनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएको सवारीसाधनलाई कारवाही नगरेर यतिकै छाड्न मिल्दैन्। तर, अस्थायी प्रहरी पोष्ट वाणीले भने रातारात ट्रक छाडेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

clock आइतबार १०, भदौ २०८० १०:१५

प्रतिक्रिया