मेलौलीमा एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

  शनिबार १८, चैत २०७९ १०:२४

बैतडी । बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार सुरु भएको एसईईलाई मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए।

ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा बिक्री नगर्न आग्रह गरिएको छ।

कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु बिक्री गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।

प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन् ।

clock शनिबार १८, चैत २०७९ १०:२४

प्रतिक्रिया