कर्मचारीसँग पैसा उठाउने वन निर्देशक कृष्णदत्त भट्टलाई संसदीय समितिले बोलायो

  शुक्रबार ०८, भदौ २०८० १५:३२

धनगढी । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक  कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ।

भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि उपसमिति बनाएको थियोे।

उपसमितिका संयोजक मानबहादुर धामीका अनुसार निमित्त वन निर्देशक भट्टलाई भदौ ११ गते ११ बजे समितिको बैठकमा जवाफ दिने गरेर उपस्थित हुन पत्राचार गरिएको छ। 

भट्ट स्वयंको स्वरमा गालीगलोज र रकम असुली गरेको हुँ भन्ने भिडियो र अडियो सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले प्रदेश सभा सदस्य धामीको संयोजकत्वमा वीरबहादुर थापा, खेमादेवी विष्ट, बेलबहादुर रानामगर र टीका थापा सदस्य रहेको पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

केही दिनअघि सार्वजनिक भएको अर्को भिडियोमा भट्टले मातहतका डिभिजन वन कार्यालयको नामै किटान गरेर २० हजारदेखि एक लाख रुपियाँसम्म उठाएको बताएका छन्।

भदौ ४ गते बनाइएको छानबिन उपसमितिलाई १५ दिनभित्र सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेश गर्न समय दिएको छ। 

clock शुक्रबार ०८, भदौ २०८० १५:३२

प्रतिक्रिया