एक महिनादेखि बन्द रहेका दिपायल-सिलगढी नगर बस पुनः सञ्चालन

  शुक्रबार ०८, भदौ २०८० १५:१८

डोटी । एक महिनादेखि बन्द रहेको दिपायल-सिलगढी नगर बस सेवा पुनः सञ्चालनमा आएको छ । नगरपालिकाले ५ वर्षअघि तीन वटा नगर बस सञ्चालनमा ल्याएको थियो । तीनवटै बस एकैसाथ बिग्रिएपछि एक महिनादेखि सेवा बन्द थियो ।

नगर बस बन्द हुँदा यात्रुलाई सास्ती भएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना गरिएको थियो । यसपछि नगरपालिकाले दुइटा बस मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।

तीनवटै बस बिग्रिएका कारण सेवा दिन असमर्थ भएको र हाल नगरपालिकाले दुइटा बस मर्मत गरी सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले जानकारी दिए ।

उनले कैलालीको धनगढीबाट सामान ल्याउनुपर्ने तर खानीडाँडामा बाटो अवरुद्ध हुँदा केही ढिला हुन गएको बताए ।

नगरपालिकाले सहुलियत भाडादरमा नगर बस सञ्चालन गर्दै आएको छ । दिपायल(सिलगढी रुटमा चल्ने सार्वजनिक यातायातले प्रतिव्यक्ति ७० रुपैयाँ भाडा लिने गरेकोमा नगर बसले ५० रुपैयाँमा सेवा दिँदै आएको छ ।

तोकिएकै समयमा छुट्ने र भाडादर पनि सस्तो भएका कारण यात्रुको रोजाइमा नगर बस पर्छ । नगर बसले ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत र सञ्चारकर्मीहरुलाई शत प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

clock शुक्रबार ०८, भदौ २०८० १५:१८

प्रतिक्रिया