धनगढीको दक्षिणकाली हाट बजारमा चल्यो उपमहानगरपालिकाको डोजर

  शुक्रबार ०८, भदौ २०८० १५:०४

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले  डोजर चलाएको छ ।शुक्रबार दिउँसो त्यहाँ व्यापार गरिरहेका व्यवसायीहरुलाई जानकारी नदिई उपमहानगरपालिकाले एक्कासी डोजर चलाएको आरोप व्यापारीले लगाएका छन् ।

धनगढीका ब्यवसायी ओम पाठकले ठेक्का सम्झौता गरेर चलाएको हाट बजारको गत पुसमा सम्झौता मिति सकिएपछि छ महिनाभित्र खाली गर्न भनि पत्राचार गरिसकेको उपमहानगरपालीकाले जनाएको छ । राजश्व शाखा प्रमुख योगेन्द्रप्रसाद चन्दले व्यवसायीहरुले भाडा पनि नदिने हटन् पनि नमानेपछि डोजर चलाएको बताए ।  

उनले सम्झौता सकीएपछि त्यहाँ सबेका किसानका कोल्ड स्टोर पनि भएकाले हामीले साउनदेखिको भाडा उपमहानगरपालिकालाई दिन भनेको भएपनि अटेर गरेकाले डोजर चलाउन बाद्य भएको बताए ।

उपमहानगरपालिकाले त्यहाँको हाटबजार हटाएर सपिङ कम्पलेक्स बनाउने योजना बनाएको छ । उनले सपिङ कम्पलेक्सका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताए ।

वर्षातको मौसममै व्यवसायी गरिरहेको स्थानमा उपमहानगरपालिकाले डोजर चलाएपछि त्यहाँका व्यवसायील समस्या भएको बताएका छन् । व्यवसायी यमराज रावलले पसलमा डोजर चलेपछि त्यहाँ भएका सामान एक्कासी कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताए ।

हाट बजारभित्र बनेका पक्की गोदामभित्र तरकारी, फलफूलका होलसेल पसलहरु छन् । सडक किनारमा रहेका केही कोठाहरुमा किराना, चिया पसलका साथै मासु सेन्टर रहेको थियो । 

भुपु सैनिक सहकारी संस्थाले सम्झौता गरि त्यहाँ विभिन्न व्यापारीहरुलाई व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो। भुपु सैनिक सहकारी संस्थाका अध्यक्ष शंकर सिंह ऐरीले सडकबाट आइरहेका भाडा सम्झौता गरेको ठेकेदारलाई मासिक रुपमा बुझाउँदै आइरहेका बताए।

अझै एक वर्षसम्मको सम्झौता बाँकी रहेकोमा उपमहानगरपालिकाले एक्कासी जानकारी बिना डोजर चलाएको बताए। सटरका विषयमा पटक-पटक उपमहानगरपालिकासंग संवाद भएको र सम्झौता गरेको मानिसलाई सटरबाट आएको भाडा बुझाउने भएपनी उपमहानगरपालिकाले सिधै आफनो खातामा आउनुपर्ने भनेर दबाब दिइरहेको बताए।

एक सय २५ सेयर सदस्य रहेको सो सहकारीले ठेक्का सम्झौता गरेका ठेकेदारसंग साढे ४ लाख धरौटी जम्मा रहेको उनको भनाई छ।

clock शुक्रबार ०८, भदौ २०८० १५:०४

प्रतिक्रिया