अछामको मङ्गलसेनमा १५ घर पहिरोको जोखिममा

  बिहिबार ०७, भदौ २०८० १४:२२

अछाम । माथिबाट पहिरो खस्न थालेपछि अछाम मङ्गलसेन नगरपालिका–८ सुतुडमा १५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । मंगलसेन–जुपु–रामारोशन सडकको तलतिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेको पाइएको हो ।

घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तको घरमा सरिसकेको स्थानीय मीनबहादुर बोहराले जानकारी दिए । घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने अन्य घरपरिवार त्रासमा रहेका छन् । उनीहरुले समयमै पहिरोबाट बचाउने उपायका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

सडकको माथिबाट पहिरो झर्न थालेकाले टोल नै जोखिममा रहेको वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराको भनाइ छ । “सडकको तल्लो छेउमा जाली हालेपनि माथिल्लो छेउबाट पहिरो आउन थालेको छ, त्यसैले घर जोखिममा छन् ।” वडा अध्यक्ष बोहराले भने ।

पहिरोलाई नियन्त्रणका लागि उक्त सडक निर्माण गर्ने पूर्वाधार कार्यालय र सम्बन्धित ठेकेदारसँग कुरा भएको अध्यक्ष बोहराको भनाइ छ । दुई दिनदेखि पानी परिरहेकाले पहिरो थप खस्न सक्ने अनुमान स्थानीयको भनाइ छ ।

सडक निर्माणका क्रममा उक्त स्थानमा चट्टान भएकोले पहिरो नआउने अनुमान भए पनि हाल पहिरोको जोखिम रहेको बताइएको छ । वर्षाका कारण अछामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडकमा रुख ढलेर, साना पहिरोले अवरोध भइरहेको बताइएको छ ।

clock बिहिबार ०७, भदौ २०८० १४:२२

प्रतिक्रिया