भारतीय एसएसबीका जवान हतियारसहित कञ्चनपुरको दोधारा चाँदनी तीर भागेपछि ..........

  सोमबार ०४, भदौ २०८० १५:३४

कञ्चनपुर । कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हतियारसहित नेपाल छिरेको आशंका गरिएका भारतीय एसएसबीका जवान उतै फेला परेका छन्। हतियारसहित बेपत्ता भएका  भारतीय सुरक्षा बल (एसएसबी) का जवान १४ घण्टापछि भारतीय भूमीमै भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले नेपाल प्रवेश गरेको आशंका गरिएका जवान भारतीय भूमीमै भेटिएको खबर प्राप्त भएको जानकारी दिए।

भारततर्फ मेलाघाटमा रहेको एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार जवान सोमबार दिउँसो जंगलमा भेटिएका डीएसपी डाँगीले बताए।

राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेको थियो।

सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा चाँदनीको नेपाली सीमा सिल गरेर नाकामा निगरानी गरेको थियो। ड्युटीमा खटिएका जवान फरार हुनुको कारण खुल्न सकेको छैन। अहिले उताका डिआइजीले ती जवानलाई नियन्त्रणमा लिएका छन्।

clock सोमबार ०४, भदौ २०८० १५:३४

प्रतिक्रिया