भ्रष्टाचार मुद्दामा सफाइ पाएका विष्ट वन निर्देशककै जिम्मेवारीमा फर्किए

  बिहिबार ३२, साउन २०८० १३:२५

धनगढी । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका विष्ट अदालतबाट दोषी ठहर नभएपछि पुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले विष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए । ‘अदालतबाट सफाई पाएपछि उहाँ (विष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो । मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्नेगरी खटाएको छ,’ केसीले भने ।

झण्डै ७ करोड रुपैयाँ अकुत आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका विष्टले विशेष अदालतबाट सफाई पाएका थिए । विशेष अदालतले विष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत आर्जनमा सफाइ दिएको थियो । विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विशेग अदालतमा मुद्दा दायर गरेको थियो ।

clock बिहिबार ३२, साउन २०८० १३:२५

प्रतिक्रिया