घुस काण्डमा मुछिएका कैलालीको गोदावरीका कृषि अधिकृतले ठोके राजीनामा

  बुधबार ३१, साउन २०८० १०:००

अत्तरीया । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्।

नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्।

३ दिने स्पष्टिकरण सोधिएकोमा दिन कटेपछि भट्टको राजीनामा पत्र आएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए।

नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण भेटिएको जनाएको छ।

भट्टले समूहहरूलाई रातिको समय फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेको कृषकहरूले बताएका छन्। उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका हुन्। 

तर, अडियो आफ्नो भएपनि पैसा भने नमागेको उनले दाबी गरेका छन्। भट्टले उक्त अडियोमा कमिसनको रकम माथिल्लो कर्मचारीहरूलाई समेत दिनुपर्ने सेवाग्राहीलाई बताएका थिए।

clock बुधबार ३१, साउन २०८० १०:००

प्रतिक्रिया