गौरा पर्वको सुदूरपश्चिममा भदौ ७ र ८ गते  बिदा

  मङ्गलबार ३०, साउन २०८० २१:११

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ। प्रदेश  अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको हो। सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ। 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए।  सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो।  

यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो। दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गरेका छन्।  शास्त्रीय मान्यता अनुसार यो पर्व अगस्त्योदय पश्चात् र असोज अर्थात् कन्यार्कम गर्नु हुँदैन भन्ने सर्वविदितै छ उनले भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भाद्र ७ गते पश्चात् यो पर्व मनाउँदा प्रचलित अगस्त्योदयसाधना गर्ने गणितद्वारा अगस्त्यको उदय हुने र सुतकलाग्ने भएकोले भाद्र ७ गते नै सो पर्व मनाउनुपरेको यथार्थ पनि समस्त गौरा पर्वनुरागी सज्जन वृन्दमा सादर निवेदन गर्दछु।’

तत्कालीन राज्यमन्त्री स्व। प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो। गौरामा डेउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ।

सो पर्व सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, दार्चुला तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर र नेपालको राजधानी काठमाडौँमा समेत विषेशरुपमा मनाइने गरिएको छ। दुर्वाष्टमीमा सुरु हुने गौरा पर्व ठाउँ अनुसार चार दिनसम्म मनाइने गरिन्छ ।

clock मङ्गलबार ३०, साउन २०८० २१:११

प्रतिक्रिया