अवरुद्ध भएको भिमदत्त राजमार्ग एकसाता पछि सुचारु, नयाँ ट्रयाक भएकाले सञ्चालनमा समस्या

  मङ्गलबार ३०, साउन २०८० १०:२७

धनगढी । वर्षा र पहिरोका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग एकसाता पछि सुचारु भएको छ । गतको सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा पहिरोले सडक भासिएको थियो ।राजमार्ग आंशिकरुपमा सञ्चालन भए पनि बेलाबेला यातायात अवरुद्ध हुने गरेको छ ।

करीब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासंगको यातायात सम्पर्क टुटेको थियो । सडक भासिएपछि नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

लगातारको बर्षाका कारण नयाँ खोलिएको ट्रयाकमा समेत सवारी साधन सञ्चालनमा समस्या आएको थियो । ट्रयाक ढुंगा विछ्याएपछि सोमबारदेखि राजमार्ग सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक सुचारु भएसंगै तराईबाट पहाड र पहाडबाट तराईका लागि यातायातका साधनहरु चल्न थालेका छन् । अहिले १० चक्के ट्रक सम्मलाई आवतजावत गर्न दिइएको छ भने त्यो भन्दा ठूला सवारी साधनमा रोक लगाइएको छ ।

सडक सुचारु भएपनि बर्षाका कारण जोखिम भने कायमै रहेको छ । बुढीतोला क्षेत्रमा पहिरोको जोखिम रहेकाले सडक अवरुद्ध हुन सक्ने बताइएको छ । नयाँ खोलिएको ट्रयाक पनि हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा भने समस्या रहेको छ ।

clock मङ्गलबार ३०, साउन २०८० १०:२७

प्रतिक्रिया