भजनीका बाढीपीडित ६ दिनदेखि त्रिपालमै

  सोमबार २९, साउन २०८० १०:२९     विश्वास खबर

धनगढी । कैलालीको भजनीमा बाढीबाट विस्थापित भएका ६ दिनदेखि घर फर्कन सकेका छैनन् । उनीहरू हुलाकी राजमार्गको सडकमा त्रिपाल लगाएका बसेका छन् ।

बाढीका कारण भजनीमा गत साता करिब नौ सय परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये आधा परिवार घर फर्कन नसकेको भजनीका मेयर केवल चौधरीले बताए ।

कतिपय बस्तीमा अझै बाढी रहेको उनको भनाइ छ । ‘बाढीले घर हिलाम्य भएर बस्नलायक छैनन्, पुनः बाढी आउने जोखिम रहेकाले पनि मानिसहरू घर फर्कन सकेका छैनन्,’ उनले भने, ‘नदीहरूमा बाढीको सतह बढ्दै गएकाले पुनः डुबान हुने जोखिम छ ।’

सुदूरपश्चिमका केही भूभागमा उच्च वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । वर्षा भए विस्थापितको संख्या अझै बढ्ने मेयर चौधरीले बताए । स्थानीय कान्द्रा, काढा, पथरैया र मोहना नदीमा बाढीको सतह बिस्तारै बढ्न थालेको उनको भनाइ छ ।

टीकापुर क्षेत्रमा कर्णाली नदीले कटान तीव्र बनाएको छ । टीकापुर उद्यान क्षेत्रमा तटबन्ध बनाएको ठाउँमा नदी कटान तीव्र भएपछि आसपासका बस्ती जोखिममा छन् ।

तटबन्ध भत्किएमा टीकापुरका वडा नम्बर ५ देखि ९ सम्मका बस्ती डुबानमा पर्ने सम्भावना रहेको स्थानीयले बताएका छन् । 

clock सोमबार २९, साउन २०८० १०:२९     विश्वास खबर

प्रतिक्रिया