भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन, भारत र चीनमा डाइभर्ट

  आइतबार २८, साउन २०८० १५:१३

काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।


विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।

clock आइतबार २८, साउन २०८० १५:१३

प्रतिक्रिया