भीमदत्त राजमार्ग चौथो दिन पनि खुलेन, आज खुल्ने संभावना

  शुक्रबार २६, साउन २०८० १०:२०

धनगढी । पहिरो र सडक भासिएका कारण अवरुद्ध भएको धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको बुढीतोला सडक खण्ड चौथौ दिनसम्म पनि सञ्चालनमा आउन सकेको छैन । मर्मत संभार कार्य प्रभावित नभए आज ९शुक्रवार० साँझसम्म भने राजमार्ग खुल्ने बताईएको छ ।

वर्षासंगै लेदो खस्ने कार्य नरोकिएका कारण भासिएको सडक मर्मत संभार र पहिरो हटाउन बाधा भएको बताईएको छ ।
बिहीवार साँझसम्म सडक खोल्न सडक बिभाग र सुरक्षाकर्मीहरुले गरेको प्रयास सफल हुन सकेन । वर्षा रोकिए आज साँझसम्म भीमदत्त राजमार्ग सुचारु हुने संभावना छ ।

भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला खण्डमा सडक भासिने र लेदो खस्ने क्रम जारी रहेका कारण यातायात सुचारु गर्न कठिनाई भएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।

पहिरो हटाउन तथा मर्मत संभारका लागि बुढीतोला सडक खण्डका दुबै तर्फ सडक बिभागले काम गरिरहेको छ । सडक बिभागले पहिरो हटाउन र भासिएको सडक मर्मतका लागि पाँच वटा जेसिवी प्रयोग गरिरहेको छ । र, सडक खुलाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिएको छ ।

बिहीवार साँझदेखि मर्मत संभार कार्य रोकिएको छ । प्रतिकुल मौसम र अध्यारोका कारण रोकिएको मर्मत संभार र पहिरो हटाउने कार्य आज बिहान पुनः सुचारु गरिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता चन्दले सडक वर्षा रोकिए शुक्रवार दिनभरी अस्थायी रुपमा सिंगल ट्रयाक खुल्ने बताए । उनले भने, मौसम सुधार भए शुक्रवार दिउँसो १ बजेसम्म सिंगल ट्रयाक खुल्ने अनुमान गरेका छौ । नभए साँझसम्म त अवश्य राजमार्ग खुल्ने छ ।

अबरुद्ध सडकका दुबै तिर सवारी साधनहरु अलपत्र परेका छन् । तराईबाट पहाड जाने कतिपय यात्रुहरु जोखिम मोलेर बुढीतोलासम्म गाडीमा जाने र त्यहाँबाट सडक भासिएको क्षेत्र हिडेर पार गर्ने गरेका छन् ।

त्यस्तै पहाडी जिल्लाबाट आउने यात्रुहरु पनि जोखिम मोलेर पहिरो छिचोलेर आउने गरेका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पहिरोमा फसेका बालबालिका, बिरामी, र ज्येष्ठ नागरिकहरुलाई बोकेर उद्दार गर्ने गरेको छ ।

clock शुक्रबार २६, साउन २०८० १०:२०

प्रतिक्रिया