बाढी वस्तीमा पसेपछि कैलालीमा एक हजार बढी घरधुरी प्रभावित

  बुधबार २४, साउन २०८० १६:४८

धनगढी । सोमबारदेखि मंगलबार रातिसम्म परेको अविरल वर्षाले कैलालीमा एक हजार भन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण भजनी नगरपालिका जलमग्न भएको छ। बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा वडा नम्बर ३, ५, ७ र ८ नम्बर वडाभित्रका दुई सय ४३ घर डुबानमा परेका छन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर  ३ का वडाध्यक्ष विक्रम चौधरीले मंगलबारसम्म केहि वडा प्रभावित भए पनि बुधबार बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको बताएका छन्। प्रभावित भएका परिवारको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताएका हुन्।

वर्षासँगै आएको बाढीबाट टीकापुर क्षेत्रको केहि वडा पनि प्रभावित बन्न पुगेका छन्। टीकापुर नगरपालिकाको वडा नम्बर ६ र ७ का एक सय ६१ घरधुरी प्रभावित बन्न पुगेका छन्। त्यस्तै जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ वडा डुबानमा परेको छ।

सो वडाभित्रका एक सय ८० घरधुरी प्रभावित बनेका छन्। जानकी गाउँपालिकाका वडा नम्बर १, ४ र ७ मा दुई सय ५० घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। अविरल बर्षासँगै आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा वितण्डा नै मचाएको छ।

कैलारी गाउँपालिकाको ७ नम्बर वडा डुबानमा परेर एक सय ५५ घरधुरी प्रभावित भएका छन भने गोदावरी नगरपालिकाको ४ नम्बर वडाका ७ घरधुरी डुबानमा परेका छन्। त्यस्तै धनगढी उपमहानगरपालिको १५ नम्बर वडाका २६ घरधुरी अविरल वर्षाका कारण प्रभावित बन्न पुगेका छन्। कैलालीका कुल १३ पालिकामध्ये ७ पालिकाका अधिकांश वडाहरुका वस्ती डुबानमा परेका छन्।

७ पालिकाभित्रका एक हजार १२ घरधुरी वर्षापछि आएको बाढीबाट प्रभावित बन्न पुगेका हुन्। सोमबार र मंगलबार राति मात्र कैलालीको गोदावरीमा बाढीले सो क्षेत्रमा रहेको पुल क्षेत्रको कटान गर्नुका साथै संरचनामा क्षति गरेको छ। त्यहाँ अवस्थित मठ, मन्दिर एवं घरहरुमा बाढी पसेपछि क्षति पुगेको हो। अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा जिल्लामा एक हजार बढी घरधुरी प्रभावित भएको बताइएको छ।

clock बुधबार २४, साउन २०८० १६:४८

प्रतिक्रिया