धनगढीको भाटभटेनीमा क्यामेरावालाको आतंक, महिनामा १५ देखि २० घटना घट्दै

  मङ्गलबार २३, साउन २०८० ०७:०१

धनगढी । धनगढीको भाटभटेनीमा क्यामेरावालाको आतंक बढेको पाइएको छ। ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेपछि हिरासतमा रहेका मीनबहादुर गुरुङ नै संचालक रहेको धनगढीस्थित भाटभटेनी सुपरमार्केटमा क्यामेरा आतंकले उग्र रुप लिएको हो।

सेवाग्राहीका अनुसार भाटभटेनीमा छिरेपछि जहिल्यै त्यहाँ १ दर्जन बढी क्यामेराधारी भेटिने गरेको र उनीहरुले रकमसमेत असुल्ने गरेका थिए। धनगढीमा भाटभटेनी खुलेदेखि ती क्यामेरावालाले १०० रुपैयाँका दरले रकम असुल्ने गरेका हुन्। उनीहरूले भाटभटेनीसँगको सेटिङमा सेवाग्राहीको फोटो खिचेवाफत १०० रुपैयाँ र भिडियो खिचेको २०० देखि ५ सयसम्म लिने गरेका थिए।

भाटभटेनीको बाहिर (परिसर) मा भीडभाड हुने क्षेत्रमै उनीहरुले क्यामेरावाला धन्दा चलाएका थिए। सेवाग्राहीलाई उनीहरुले कम्तिमा ५ तस्बिर खिचाउनैपर्ने र त्यसको मूल्य १ सय अथवा त्यो भन्दा बढी समेत लिने शर्तमा असुली धन्दाजस्तै चलाएका थिए। जसका कारण सेवाग्राहीले अनावश्यक दुख पाएको र लुट मच्चाएको गुनासोसमेत गरेका थिए।

लफडापछि लगाइयो प्रतिबन्ध

भाटभटेनीको सुरक्षा स्रोतका अनुसार अहिले सो क्षेत्रमा क्यामेरा म्यानहरुलाई प्रतिबन्ध नै लगाइएको छ। दैनिक उनीहरुकै कारण लफडा हुने र एक क्यामेराम्यानको टाउको फुटेको घटना प्रहरीसम्म पुगेपछि प्रतिबन्ध लगाइएको हो।

हालै एक साता अघि धनगढी उपमहानगरपालिका-१३ घर भएका क्यामेराम्यान बिरेन्द्र बिकको भाटभटेनीमै विवाद भएपछि झगडा हुँदा टाउको नै फुटेको थियो। फोटोको विषयमा विवाद भएर झगडा भएपछि केटाहरुको समूहले बिकमाथि बियरको बोतलले प्रहार गरेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बिकको मायामेट्रोमा उपचार गरिएपछि अहिले डिस्चार्जसमेत भैसकेका छन्।

यस्तै भाटभटेनीमा एक महिनाको दौरानमा कम्तिमा १५ दिन लफडा हुने गरेको र भित्रै चक्कुसमेत बोकेर केटाहरुको ग्याङ जाने गरेको बताइएको छ। भाटभटेनीको खुकुलो सुरक्षा व्यवस्था र म्यानेजरको लापरबाहीका कारण लफडा भैरहने गरेको हो।

राजपुर प्रहरीका प्रमुख असई बहादुरसिंह ऐरीले पछिल्लो समय भाटभटेनीमा विवादका घटना बढ्दै गएको र अहिले आफ्नो टोलीले निरन्तर गस्ती बढाएको बताए। उनका अनुसार भाटभटेनी क्षेत्रभित्र र आसपासमा अहिले प्रहरीले निगरानी समेत गर्ने गरेको छ।

यता भाटभटेनी धनगढीकी म्यानेजर कमला दाहालले भने भाटभटेनीमा लफडा भएको र क्यामेरा आतंकको विषयमा बोल्न अनिच्छा देखाएकी छन्। दाहालले त्यहाँ भएको कुनै पनि विवादको घटना आफूलाई थाहा नभएको भन्दै आफू र आफ्नो सुरक्षा निकायको गल्ती ढाकछोप गर्ने प्रयत्न गरिन्।

उनले त्यहाँ प्रहरीले आएर विवाद समाधान गर्ने गरेको कुरा पनि थाहा नभएको भन्दै सो विषयमा अनभिज्ञता प्रकट गरिन्।

तर त्यहाँ कार्यरत एक कर्मचारीले भने भाटभटेनीमा पहिलेदेखि क्यामेराम्यानहरुको आतंक रहेकोमा अहिले प्रतिबन्ध लगाइएको र एक जनाको टाउकै फुट्नेसम्मको घटना घटेको स्वीकारे। तर उनले त्यो घटना भाटभटेनीबाहिर रोडमा भएको दाबी गरे। महेन्द्रनगर पोष्टबाट

clock मङ्गलबार २३, साउन २०८० ०७:०१

प्रतिक्रिया