धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

  आइतबार २१, साउन २०८० १६:०६

धनगढी । धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। आइतवारदेखि धनगढी उपमहानगरपालिका परिसरमा जडान गरिएको विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको हो।

एक समारोहका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले संयुक्त रुपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेसन उद्घाटनसँगै सञ्चालनमा ल्याइएको हो।

उद्घाटन गर्दै उमप्रमुख रानाले विद्युतीय सवारीको प्रयोगले वातावरण प्रदुसण कम हुने बताईन् । उनले बिद्युत प्राधिकरण संगको सहकार्यमा धनगढीका अन्य ठाउमा पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने बताईन् । 

विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उपमहानगरले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा आएको नगर प्रमुख गोपाल हमालले बताए। उनले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबर्द्धन गर्ने बताए।

धनगढीको चार्जिङ स्टेसनमा एक सय ४० किलोवाट क्षमताको रहेको छ। चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एक एसी चार्जर राखिएको छ। सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रति युनिट शुल्क तोकिएको छ। चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा विद्युतीय चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागर ज्ञवाली र निर्माण कम्पनीका व्यवस्थापक शिवराम अधिकारी र उपमहानगरका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

clock आइतबार २१, साउन २०८० १६:०६

प्रतिक्रिया