सर्वोच्चका न्यायाधीशका सुरक्षा गार्ड सईकै पिस्तोल चोरी!

  शनिबार २०, साउन २०८० २०:२५

काठमाडौं । सर्वोच्च अदालतका एक जना न्यायाधीशको निजी सुरक्षामा खटिएका प्रहरीको पिस्तोल चोरी भएको छ।

प्रहरी स्रोतका अनुसार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको निजी सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) प्रभाकर खड्काको टाइप फिफ्टी फोर चाइनिज पिस्तोल चोरी भएको हो।

प्रहरी स्रोतका अनुसार उक्त पिस्तोल गत असार ३० गते चोरी भएको थियो। चाेरी भएकाे पिस्ताेल फेला र चोरीमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्र घटना सार्वजनिक भएको हो।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित सुवेदीगाउँ घर भएका सई खड्काको दरबन्दी प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा निर्देशनालय हो। उनी न्यायाधीश सुवेदीको निजी सरक्षा गार्ड हुन्।

असार ३० गते उक्त पिस्तोल, १ थान म्याग्जिन, ७ राउण्ड गोली झोलामा राखेर सुतेका सईको कोठाबाट राति १० बजे चोरी भएको थियो।

उक्त पिस्तोल शुक्रबार सिन्धुलीको गोलबजार गाउँपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, नारायणटार शिवचोकस्थित केदारनाथ ढकालको घरमा डेरा गरी बस्ने २४ वर्षीय मेघबहादुर तामाङको कोठामा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको हो।

प्रहरीले सो कोठाबाट उक्त पिस्तोल र त्यसको म्याग्जिन र ७ राउण्ड गोली बरामद गरेको छ।

घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौंको फुटुङ बस्ने २४ वर्षीय बासुदेव थामीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock शनिबार २०, साउन २०८० २०:२५

प्रतिक्रिया