जागिरबाट हटाइएपछि बाजुराको  एक वडा कार्यालयमा ताला

  बिहिबार १६, चैत २०७९ १३:५३

बाजुरा, १६ चैत । बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाएकी छन् । वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाएकी हुन ।

साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो । बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताइन ।

उनले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको दाबी गरिन । उनले भनिन्, “मेरो श्रीमान् अपाङ्गता भएका कारण घरको स्थिति कमजोर भएकाले कार्यालय सहयोगीका रूपमा २०६६ सालमा काम पाएको थिएँ । अहिले एक्कासि राजनीतिक पूर्वाग्रहका कारण मलाई हटाइयो ।”

वडा कार्यालयमा ताला लागेपछि अहिले वडाबाट हुने स्थानीयका दैनिक काम प्रभावित भएका छन् । यता बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर सिंहले २०७९ साल कात्तिकमा कार्यपालिकाको बैठले करार कर्मचारी हटाउने निर्णय गरेकाले सोही निर्णयअनुसार थापा हटेको बताइन । 

clock बिहिबार १६, चैत २०७९ १३:५३

प्रतिक्रिया