‘प्रहरी भन्दै’ भारतीयलाई लुटपाट गर्ने कञ्चनपुरका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पक्राउ परेका हुन् ।
उनीहरुले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षीय मोहित कुमार र उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्डका अशरफ अहमदलाई लुटपाट गरेको प्रहरीले बताएको छ ।
हाल महेन्द्रनगर बजारस्थित १ नम्बर गल्लीमा काम गर्ने उनीहरुलाई बाशासहितका तीनै जनाले हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै डराई धम्काई रातिको समयमा अपहरण गरी कलुवापुरको कालिका सामुदायिक जङ्गलभित्र लगेका थिए ।
उनीहरुले पीडित अशरफको मोटरसाइकल, कम्पनीको स्क्रिन टच मोबाइल १ थान, १६ हजार रुपैयाँ र मोहितबाट तीन हजार रुपैयाँ, स्क्रिन टच मोबाइल १ थान, भारतीय आधार कार्ड, सवारी चालक अनुमति पत्र समेतका कागजातहरू लुटपाट गरेका थिए ।
पीडित भारतीय नागरिकहरूले लुटपाटका साथै आफूहरुमाथि कुटपिट समेत भएको भन्दै अस्थायी प्रहरी पोष्ट कलुवापुरमा जानकारी गराएपश्चात इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले बाशा, ल्याङ र भुवनलाई लुटपाटका सामानसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
प्रतिक्रिया