दार्चुलामा लम्पी स्किनले २५ सयभन्दा बढी पशुचौपाया मरे

  बिहिबार ११, साउन २०८० १०:२१

दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहका सबैजसो भेगमा पशुचौपायामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । उक्त महामारीमा अढाई हजारभन्दा बढी पशुचौपाया मरेका छन् । सबै ठाउॅमा गरी ४३ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लम्पी स्किन रोगबाट हालसम्म २ हजार ५ सय ४० पशुचौपाया मरेका छन् । ४३ हजार ४७७ पशुचौपाया संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काले जानकारी दिए ।

महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकालगायतका जिल्लाका सबैजसो स्थानीय तहहरुमा पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको किसानहरुले बताए । गाईगोरुमा लम्पी स्किनको संक्रमणबाट मरेपछि अहिले गोठ रित्तिएको ब्यास गाउॅपालिका–५ स्याकुकी मथुरा धामीले बताइन् । ‘घरेलु जडिबुटीको उपचार गरेपनि बचाउन सकिएन्’, उनले भनिन्, ‘लम्पी स्किनले आफ्नो गोठ रित्तिएसँगै छिमेकमा पनि संक्रमण बढेको छ ।’

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठ नै रित्तिने अवस्था आएको छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै संकटमा परेको कृषक बताउँछन् । अधिकांश बस्तीका सबैजसो घरधुरीमा पशुचौपाया मरेको पशु प्राविधिकहरु बताउँछन् ।

पशुचौपायामा ज्वरो आउने, र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत डिगम्बर जोशीले बताए । उने लक्षण देखिएका पशुचौपायाहरुलाई छुट्टै ठाउॅमा राखी सरसफाइमा विशेष ध्यान दिई औषधि उपचार गर्न आग्रहसमेत गरे ।

clock बिहिबार ११, साउन २०८० १०:२१

प्रतिक्रिया