पहिरोको त्रासले डडेल्धुराका २२ परिवारको विद्यालयमा बास

  बिहिबार ११, साउन २०८० ०९:५१

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन्। आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन्।

मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए।

उनका अनुसार उक्त वस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो। उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन्।

२२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए।आलिताल गाउँपालिका र वडा कार्यालयको तर्फबाट पहिलो चरणको खाद्यान्न सामाग्री वितरण गरिएको उनको भनाइ छ।

यसैबीच विद्यालय भवनमा रात कटाइरहेका स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने भएको छ।

बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बसेको बैठकले वडा नम्बर १ कै पोखरीस्थित राष्ट्रिय वनको खुला क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेकाअनुसार पहिरोपीडितका लागि गृह मन्त्रालयसँग २२ थान चाइनिज टेन्ट, एक सय थान त्रिपाल र एक सय थान ब्ल्याङकेट उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको छ।

clock बिहिबार ११, साउन २०८० ०९:५१

प्रतिक्रिया