जहाज कुर्दाकुर्दै बाजुरामा बिरामीको मृत्यु, चार महिनामा चारजनाको ज्यान गयो

  बुधबार १०, साउन २०८० १७:४३

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।

मुगु जिल्ला खत्याड गाउँपालिका– ११ का ६० वर्षीय बिर्खबहादुर कार्कीको जहाज कुर्दाकुर्दै मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतीक न्यौपानेले जानकारी दिए। स्थल यातायातको पहुँच नभएको बाजुराको एक मात्र विकल्प हवाईमार्ग हो।

लामो समयदेखि उच्च  रक्तचापको बिरामी कार्कीलाई मंगलबार नेपालगन्ज लैजान रिफर गरिएको थियो। आफूले समयमै सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिए पनि यातायातको असुविधाले जहाज कुर्दाकुर्दै मंगलबार मध्यराति १२ बजे प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएको डाक्टर न्यौपानेले बताए।

६ दिनदेखि गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि मंगलबार दिउँसो उनलाई बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।  कोल्टी प्राथमिक स्वाथ्य केन्द्रमा पुर्‍याउँदा बिरामीको अवस्था जटिल भइसकेको डाक्टर न्यौपानेले बताए।

कोल्टीमा सहज यातायातको सुविधा नहुँदा हवाईजहाज कुर्दाकुर्दै पछिल्लो चार महिनामा चारजनाको मृत्यु भइसकेको छ। यही जेठ ५ गते जगन्नाथ गाउँपालिका निवर्तमान उपाध्यक्ष ऐन गिरी र जेठमै स्वामिकार्तिक गाउँपालिकाको स्वामिकार्तिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उदयनारायण शाह  र बुढीनन्दा नगरपालिका– ३ का अग्नि बोहराको मृत्यु भएको थियो।

यसअघि अघिल्लो वर्ष बुढीनन्दा– १० का निवर्तमान वडाध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो।

‘मौसम खराबीले जहाज डिले’
नागरिक उड्डयन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज समयमा नआएको बताएको छ। घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिवेला मौसमलाई दोष देखाउन झनै सजिलो भएको स्थानीयको आरोप छ।

कोल्टीमा जहाजभन्दा पहिले काल आउने गरेको स्थानीय सर्पलाल गिरीले बताए। लामो समयपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ। जिल्ला अस्पतालमा स्थायी दरबन्दी नहुँदा पनि कोल्टीले स्थायी दरबन्दीको डाक्टर पाएको हो।

यद्यपि, उपकरण र आवश्यक संरचना नहुँदा डाक्टरलाई समेत उपचार सेवा दिन वातावरण नमिलेको स्थानीयको भनाइ छ। नागरिक समाजका अगुवा कृष्ण अधिकारीले बाजुराको उत्तर–पूर्वी भेगमा यातायातको सहज पहुँच नहुनु र एक मात्र विकल्पको रूपमा रहेको हवाईमार्ग पनि नियमित नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए।

सिजनमा हवाई कम्पनीहरूले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्। पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ।

clock बुधबार १०, साउन २०८० १७:४३

प्रतिक्रिया