निर्मला हत्याको ५ वर्ष पूरा, पत्ता लागेन हत्यारा

  बुधबार १०, साउन २०८० ०९:३१

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको आज ५ वर्ष पूरा भएको छ। भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ५ वर्ष बितिसक्दा पनि घटनामा सङ्लग्न पक्षहरु गिरफ्तार हुन सकेका छैनन्।

०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँडेकी पन्त साउन ११ गते अज्ञात पक्षले हत्या गरी फालिएको अवस्थामा भीमदत्त नगरपालिका–१८ निम्बुखेडा सडक नजिकै रहेको खोलापारी उखुबारीमा भेटिएकी थिइन्।

घटनामा संलग्न पक्षलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै पीडित परिवार तथा स्थानीयहरुले गरेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौ आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले चलाएको गोलीबाट भिमदत्त नगरपालिका–१८ का १७ वर्षीय सन्नी खुनाको मृत्यु समेत भएको थियो।

भदौँ चार गते २०७५ मा प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो। मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्किएको थियो। तर, दिलीपको डीएनए नमिलेपछि उनी छुटेका थिए।

निर्मला हत्या प्रकरण घटनाको अनुसन्धानमा प्रहरीले नै लापार्वाही गरेको भन्ने स्थानीयहरुको आरोपपश्चात यस विषयमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोली र डिआइजी धिरू बस्नेतको नेतृत्वमा आन्तरिक छानबिन समिति समेत गठन भएका थिए।

आन्तररिक छानबिन समितिले गरेको अनुसन्धानबाट जिल्लास्थित प्रहरी प्रशासनले अनुसन्धानमा लापर्वाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, डिएसपीद्धय अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्धय जगदीश भट्ट र एकेन्द्र खड्का तथा असई रामसिंह धामीलाई निलम्बन समेत गरिएको  भएपनि हाल उनीहरुले सफाइ पाएका छन्।

निर्मालाले लगाएका कपडाहरू प्रहरी कर्मचारीले नै धोइपखाली गर्नु, उनको दाहसस्कार कै क्रममा उनले लगाएका कपडा जलाइनु र घटनास्थल नजिकै प्राप्त भएका उनका कापिकिताबहरूको समेत संरक्षण नगरिनुले प्रहरी प्रशासनमाथि नै शंका उत्पन्न भएको पीडित पक्षले बताउँदै आएका छन्।

केन्द्रीय जाँच व्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ। तर अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन।

clock बुधबार १०, साउन २०८० ०९:३१

प्रतिक्रिया