रातारात सारे बैतडीमा वडा अध्यक्षले वडाको केन्द्र, नागरिक आन्दोलित

  सोमबार ०८, साउन २०८० २१:०३

बैतडी । बैतडीमा एक वडा अध्यक्षले वडा कार्यालयको केन्द्र अन्यत्र सारेपछि  नागरिकहरु आन्दोलित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ का वडा अध्यक्ष पदन राज अवस्थीले जनताहरुलाइ कुनै जानकारी नगराएर रातारात कार्यालय अन्यत्र सारेका हुन् ।

कार्यालय अन्यत्र सारिएपछि संघर्ष समिति गठन गरेर वडाबासी  आन्दोलित भएका हुन् । वडा कार्यालय  रहेको  पुरानो  ठाउँ लम्भ्वाबाट वडा अध्यक्षले आफु बस्ने ठाउँ नजिक शिवालय भन्ने स्थानमा वडा कार्यालय  स्थापना गरेका पूर्व वडा अध्यक्ष एवं संघर्ष समिति संयोजक जय बहादुर  कुँवरले जानकारी दिए ।

वडा अध्यक्षले साउन ४ गते राति वडा कार्यालय  सारेका बताइएको  छ । वडा अध्यक्षले वडा कार्यालय आफु बस्ने ठाउँ नजिक स्थापना  गरेपछि अहिले नागरिकहरु आन्दोलनमा उत्रिएका उनले  बताए । 

वडा अध्यक्षले मनोमानी ढंङ्गबाट कार्यालय सेवाग्रहीको  पहुँच भन्दा टाढा एकान्त कुनामा लगेपछि आफु अन्दोलित भएका स्थानीय रतन कुँवरले  बताए । वडाबासी र घरधनीलाइ समेत थाहा नगराएर  सार्वजनिक सूचना विना वडा अध्यक्षले कार्यालय  अन्यत्र सारेको  उनको  आरोप छ । अन्दोलित जनताहरुले  सबैको पाइक पर्ने स्थान खालिडाँडामा वडा कार्यालय  स्थापना हुनु पर्ने माग राखेका छन् । 

सेवाग्राहीलाई सहज हुने स्थान खालिडाँडामा  वडा कार्यालय  स्थापना  नभए थप संघर्षका कार्यक्रम गरिने आन्दोलनकारीको चेतावनी  छ । यता वडा अध्यक्ष अवस्थीले जनप्रतिनिधिहरुको बैठकबाट निर्णय गरेर वडा कार्यालय  सारेको  बताए  ।साविकको वडा कार्यालयमा  सेवा प्रवाह गर्न समस्या भएपछि  वडा कार्यालय प्रकृयागत हिसाबले  सारिएको  उनले  दाबी गरे ।

clock सोमबार ०८, साउन २०८० २१:०३

प्रतिक्रिया