कञ्चनपुरको महेन्द्रनगरमा रहेको मदनचोकमा बन्द

  आइतबार ०७, साउन २०८० १२:०२

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मदनचोक बन्द गरिएको छ। व्यवापारीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन्।

उनीहरुले महेन्द्रनगरको बजार क्षेत्रका अन्य सडकको निर्माण लगभग पूरा हुँदा पनि नगरको मुख्य चोक अलपत्र परिएको बताएका छन्। चोक अलपत्र बनेपछि पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि आफूहरुले बसपार्कतर्फ जाने बाटो बन्द गरेको व्यापारीहरुले बताएका छन्।  

आक्रोशित व्यापारीले बन्दको अवज्ञा गर्ने केही मोटरसाइकल चालकमाथि हातपातसमेत गरेका छन्।  भीमदत्त नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष सुशिल भट्टले सडकका ढुंगा हटाउन गरेको अनुरोधको वास्ता नगरेपछि सडक नै बन्द गर्न बाध्य हुनुपरेको व्यापारीहरुको कथन छ ।

व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा वडाअध्यक्ष भट्टको फोटो टाँसेका छन्। सडकलाई पानी नजम्ने र ढुंगा नउछिट्टिने बनाए मात्रै अवरोध हटाउने जोशीलगायतका व्यापारीको भनाई छ।

एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ। सडक निर्माणमा अवरोध बनेका भीमदत्त नगर विकास समितिको स्वामित्वका २२ सटर भत्काउन नगरपालिकाले आनाकानी गरेपछि एडिबीले मदनचोकलाई छोडेको हो।

clock आइतबार ०७, साउन २०८० १२:०२

प्रतिक्रिया