धनगढीका नगर प्रहरीले गर्योे ७ दीनमा ४७ सर्पको उद्धार

  आइतबार ०७, साउन २०८० ११:५५

धनगढी । कैलालीको धनगढी उपहानरपालिकाभित्र कार्यरत नगर प्रहरीको भुमिका प्रभावकारी बन्दै गएको छ। नगर प्रहरीले धनगढीमा सात दिनको अवधिमा ४७ सर्पको उद्धार गरेको छ।

घरभित्र पसेका सर्पलाई सुरक्षित रुपमा समात्न नगर प्रहरीले असार ३१ गतेबाट काम थालेको हो। सर्प समात्ने तालिम पाएको नगर प्रहरी सूचना प्राप्त गर्ने वित्तिकै सम्बन्धित स्थानमा पुगेर सर्प समात्ने गरेको नगर प्रहरी नायव निरीक्षक कृष्ण मल्लले बताए।

‘हामीले असार ३१ गतेबाट घरभित्र पसेका सर्पहरूको उद्धार गर्न थालेका हौँ,’ उनले भने, ‘सात दिनमा धनगढीका विभिन्न वडाबाट ४७ सर्पको उद्धार गरेर सब डिभिजन वन कार्यालयको रोहबरमा जङ्गलमा छोड्ने काम भएको छ।’

उपमहानगरपालिकाले नगर प्रहरीलाई सर्प समात्न दुई दिनको तालिम दिइएको थियो। नगर प्रहरीको टोल फ्रीन नम्बरमा फोन गरे सर्प उद्धारका लागि तत्काल प्रहरी सम्बन्धित घरमा पुग्ने गरेको छ।

धनगढी उपमहानगरपालिकाले गर्भवती महिला र स्तनपान गराउने आमा र बच्चा बिरामी हुँदा समेत अस्पताल पु¥याउन, रातिको समयमा बिरामी भएर अस्पताल आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।

यस्तै, उपमहानगरले निःशुल्क शव बाहनको व्यवस्था गरेको छ। आपतकालीन अवस्थामा पैसा नलाग्ने सम्पर्क नम्बर १८१०५००००९० मा फोन गरे नगर प्रहरीले तत्काल सहयोग पु¥याउने व्यवस्था मिलाइएको छ।

clock आइतबार ०७, साउन २०८० ११:५५

प्रतिक्रिया